EN
  • English
  • नेपाली

November 23, 2026

साइबर स्क्यामसम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

हिजो मिति २०८३ साल मङ्सिर ७ गते सामाखुसीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा साइबर स्क्यामसम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा राष्ट्रियस्तरका ८ वटा विकास बैंक र क्षेत्रीयस्तरको १ वटा विकास बैंक गरी जम्मा ९ वटा विकास बैंकका १५ जना प्रतिनिधि तथा डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका २ जना प्रतिनिधिसहित कुल १७ जनाको उपस्थिति रहेको थियो।

कार्यक्रममा साइबर ब्युरोका विज्ञ तथा जानकार अधिकारीहरू र विकास बैंकका प्रतिनिधिहरूबीच वर्तमान समयमा बढ्दै गइरहेका साइबर स्क्याम तथा त्यसबाट बैंकिङ क्षेत्रमा उत्पन्न भइरहेका चुनौती, समस्या र जोखिमका विषयमा विस्तृत छलफल भएको थियो।

विशेषगरी साइबर स्क्यामका घटनालाई प्रभावकारी रूपमा नियन्त्रण तथा न्यूनीकरण गर्ने, यस्ता घटनाबाट सिर्जना हुने समस्याको समाधान खोज्ने, सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय र सहकार्य अभिवृद्धि गर्ने तथा सम्भावित जोखिमबाट बैंक तथा बैंकका ग्राहकलाई सुरक्षित राख्ने उपायहरूका सम्बन्धमा विचार आदानप्रदान गरिएको थियो।

उक्त छलफलले साइबर अपराध नियन्त्रण तथा सुरक्षित बैंकिङ प्रणालीको विकासका लागि साइबर ब्युरो र विकास बैंकहरूबीच आपसी सहकार्य, समन्वय र सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।