EN
  • English
  • नेपाली

August 18, 2021

काठमाडौँ: विकास बैंकहरुले पनि आफ्ना सहायक कम्पनीहरु मार्फत धितोपत्र व्यवसाय (शेयर ब्रोकर) गर्ने अनुमती प्रदान गरिदिन नेपाल धितोपत्र बोर्ड (सेवोन)लाई पत्र लेखेका छन् । बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स संघ नेपालले वुधबार पत्रमार्फत यस्तो काम गर्न पाउनु पर्नेबारे बोर्डलाई अनुरोध गरेका हुन् ।

यसबारे कार्यविधि बनाइरहेको बोर्डसँग विकास बैंकहरुले पनि यसको काम गर्न पाउनु पर्नेमा जोड दिएका हुन् । हालसम्म ५० ओटा शेयर ब्रोकरले शेयर कारोबार गर्ने काम गर्दै आएका छन् । तर वाणिज्य बैंकको सहायक कम्पनीलाई यस्तो कारोबार गर्ने अधिकार दिने भनियो । तर यसबारे धेरै विवाद भएकाले कुनै निकास भएको थिएन । यस्तो व्यवसायी कस्ता कम्पनीले अनुमती पाउने भन्नेबारे बोर्डले कार्यविधि बनाइरहेको छ । यसै क्रममा विकास बैंकहरुले पनि माग गरेका हुन् ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ६२ मा बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानून बमोजिम स्थापना भएका बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनी मार्फत् मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्ने व्यवस्था छ । सोही ऐनलाई कार्यान्वयन गर्न नेपाल सरकारबाट स्वीकृति लिई नेपाल धितोपत्र बोर्डले बनाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ ले “प्रचलित कानून बमोजिम स्थापना भएको ‘क’ बर्गका बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछ” भन्ने व्यवस्था छ । तर यस अनुसार विकास बैंकहरुले पनि आफ्ना सहायक कम्पनीहरु मार्फत धितोपत्र व्यवसाय गर्ने अनुमती प्रदान गरिदिन नेपाल धितोपत्र बोर्डलाई पत्र लेखेको संघका अध्यक्ष प्रद्युमन पोखरेलले बताए ।

विकास बैंकहरुले कम्पनी ऐन २०६३ अनुसार स्थापना भई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको इजाजत प्राप्त लिइ बैंकिङ सेवा प्रदान गर्छन् ।  संघका अनुसार राष्ट्रिय स्तरका विकास बैंकहरुको औंषत चुक्ता पूँजी ३ अर्व ४० करोड रुपैयाँ नाघिसकेको छ । त्यस्तै गरी विकास बैंकहरुले एक हजार बढी शाखाबाट करिव ४१ लाख खातावालाहरुलाई  बैंकिङ सेवा प्रदान गर्दै ३ लाख बढी ग्राहकलाई कर्जा प्रवाह गरेका छन् । त्यसैगरी, २०७८ असार मसान्त सम्ममा ४४५ अर्व रुपैयाँ निक्षेप परिचालन गरी ३८३ अर्व रुपैयाँ कर्जा प्रवाह गरेको संघले जानकारी दिएको छ ।